समानुपातिक सिटमा धेरै दललाई हम्मे हम्मे

मंसिर २७, काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन् । विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए । तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेका छन् । उक्त तथ्यांक मतदान केन्द्रहरूबाट आएको प्रारम्भिक विवरणबाट तयार पारिएकाले त्यसमा केही थपघट हुन सक्छ । आयोगले ४ देखि ५ प्रतिशत मत बदर हुने अनुमान गरेको छ ।