काठमाडौं– दोस्रो चरणमा आज हुने ४५ जिल्लाको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार अपान्ह पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएका हुन् ।
७ हजार ७५२ मतदान स्थल
आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ ।
त्यसैगरी, निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारीहरू मतदान कार्य सम्पन्न गर्नका लागि खटाइ उनिहरु सबै मतदान केन्द्रमा पुगिसको आयोगले जनाएको छ ।
दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८१९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि जम्मा ५ हजार ८३८ जना निर्वाचनको प्रतिस्पर्धामा छन् ।
भोलिको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
मतदानका लागि विशेष व्यवस्था
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ । यसरी मत सङ्केत गर्दा मतदाताको इच्छाविपरीत कसैबाट पनि मतदान हुने छैन भन्ने आयोगको विश्वास छ ।
५ बजेभित्र मतदान केन्द्रमा पुग्नुपर्ने
बिहीबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने स्पसट पारेको छ । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरे कानूनबमोजिम सजायको भागी हुनुपर्ने प्रमुख निर्वाचन आयुक्र डा यादवले जनाए ।
प्रमुख आयुक्त यादवले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपील समेत गरेका छन् ।
कसरी गर्ने मतदान ?
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मनपर्ने उम्मेदवारको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएका बेग्ला–बेग्लै मतपेटिकामा मत खसाल्नु पर्नेछ ।
यसैगरी, समानुपातिकतर्फ मतदाताले आफूलाई मन परेको राजनीतिक दलकोे निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ । त्यसका लागि हल्का रातो मसीले छापिएको मतपत्रको एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्यका लागि मतपत्र–१ रहेको छ । त्यही मतपत्रको तल्लो भागमा प्रदेशसभाका लागि मतपत्र–२ रहेको छ । ती निर्वाचन चिह्नहरूमध्ये माथिल्लो मतपत्रमा एउटा र तल्लो मतपत्रमा एउटा गरी दुईवटा चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ ।
मतदाता परिचयपत्र नभएमा….
मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ ।
आयोगले अनुमति प्रदान गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यस निर्वाचनमा पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकहरूबाट नेपालको कानून, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना हुने विश्वास आयोगको छ ।
यो निर्वाचन अन्य भन्दा महत्वपुर्ण
यस निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने छ । तसर्थ यो निर्वाचन अन्य निर्वाचनभन्दा धेरै महत्वपूर्ण भएकाले मतदानमा सहभागी भई नेपाललाई दीगो आर्थिक विकास र समृद्धिको मार्गमा लैजान आ–आफ्नोतर्फबाट योगदान पु¥याउन पनि आयोगले अनुरोध गरेको छ ।
नेपालको संविधानले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गगता भएकाहरूलाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको छ । नेपालको इतिहासमा नेपाली जनताले यस्तो अवसर कहिल्यै प्राप्त गरेका थिएनन्, त्यसैले यो सुवर्ण अवसरलाई सदुपयोग गरौं र समृद्धशाली नेपाल बनाउने अग्रगामी यात्रामा समाहित हुन सबै मतदातामा आयोगले आग्रह गरेको छ ।
जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मतदान गरेको मतलाई सुरक्षा गर्नु सबैको दायित्व भएको आयोगले जनाएको छ । तसर्थ मतदान केन्द्रमा मतदाताले प्रदान गरेको मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरूपमा मतपेटिका पु¥याउने कार्यमा सबै राजनीतिक दल, उम्मेदवारसँग निर्वाचन आयोगले सहयोगको अपेक्षा गरेको छ ।