मतपेटिका रुङ्दै कार्यकर्ता, भवनमा बसेको ९ दिन पुग्यो, कुर्सीमै बित्यो रात

 

मंसिर १९,काठमाडौं – दशरथचन्द नगरपालिका–४ शाहीलेकका दशरथ टमटा नगरपालिका भवनमा बसेको ९ दिन पुग्यो । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका कुरुवा बसेका राप्रपा कार्यकर्ता टमटाको बासै त्यहीं छ ।

‘पार्टीले खटाएकाले आफ्नो काम छाडेर पनि बसेको छु,’ उनले भने, ‘सुरुको दिन कुर्सीमै बसेर रात बिताए, अहिले ओढ्ने–ओछ्याउनेको व्यवस्था छ ।’

मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षामा दलले २४ सै घण्टा कार्यकर्ता खटाएका छन् ।

उम्मेदवार र अधिकांश नेता–कार्यकर्ता दोस्रो चरणको निर्वाचन प्रचारमा हिँडेका छन् ।

उनीहरूले भ्रातृ संगठनका कार्यकर्ता कुरुवा छाडेका हुन् । कार्यकर्ताले सुरक्षाकर्मीझैं एकछिन नछाडेर मतपेटिका कुर्दै आएका छन् । खाना खानसमेत पालैपालो जाने गरेको उनीहरूले बताए ।, यो खबर आजकोकान्तिपुरमा छ ।