नाम भए भोट हाल्न परिचयपत्र नचाहिने

 
मंसिर १०,काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ ।आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका, कुनै कारणवश परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने भएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटो सहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएको भए पनि मतदान गर्न दिइने बताए । ‘नामावलीमा नाम दर्ता भएको छ तर कुनै कारणवश फोटो सहितको परिचयपत्र लिइएको छैन । हराएको छ वा नष्ट भएको छ भने पनि मतदाताको मताधिकार आयोगले सुरक्षित गरेको छ,’ उनले भने, ‘पहिले नै वितरण भएको पुरानै परिचयपत्र, नागरिकता, राहदानी, सवारी अनुमतिपत्र वा सरकारी निकायबाट जारी भएको कुनै पनि फोटो भएको परिचयपत्रको आधारमा मत हाल्न पाइन्छ,’ प्रवक्ता ढकालले भने ।
राजधानीबाट