३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आज मतदान हुँदै

मंसिर, १० काठमाडौं – ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आज मतदान हुँदैछ । पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान हुन लागेको हो ।दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो । आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ । यस्तै प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि ४२० जना चुनावी मैदानमा छन् ।

प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातासँग आग्रह गरेका छन् । ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् । पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ। पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुन लागेको हो । प्रदेश २ मा कुनै पनि पहाडी जिल्ला नभएकाले उक्त प्रदेशका सबै ८ जिल्लामा दोस्रो चरणमा मतदान हुनेछ ।
अन्नपूर्णबाट