बार्सिलोना गोलरहित बराबरीमा रोकियो

मंसिर ७, काठमाडौं – स्पेनिस ला लिगा लिडर बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकिए पनि नकआउट चरण स्थान बनाउन सफल भएको हो । युभेन्टससँगको खेलमा केही समय मात्रै मैदानमा रहेका स्टार स्ट्राइकर लियोनल मेस्सी बेन्चमा बसेर खेल हेरेका थिए । गोल गर्ने केही राम्रा अवसर बनाए पनि इटालियन जाइन्ट युभेन्टसले क्याटलान जाइन्ट बार्सिलोनालाई गोल गर्ने मौका भने दिएन । च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोनाले लगातार दोस्रो पटक गोलरहित बराबरी खेलेको हो । यसअघि ओलम्पियाकोससँगको खेलमा पनि बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो । त्यो खेल पछिल्लो पाँच वर्षमा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा गोल गर्न नसकेको पहिलो खेल थियो । बार्सिलोनाले अवे मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन । गएको सिजन च्याम्पियन्स लिगकै क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना युभेन्टसको मैदानमा ३–० ले पराजित भएको थियो । तर यसपटक भने खेल आफ्नो नियन्त्रणमा राख्न त सफल भयो तर गोल भने भएन । गोलरहित बराबरीपछि पनि बार्सिलोना समूह ‘डी’ को विजेता बन्ने सम्भावना बलियो छ । उसको पाँच खेलबाट ११ अंक भएको छ भने युभेन्टसको ८ अंक छ । समूह ‘डी’ अन्तर्गत राति नै भएको अर्को खेलमा स्पोर्टिङले ओलम्पियाकोसलाई ३–१ ले हरायो ।