चितुवाको आक्रमणबाट प्रहरी सहित ४ जना घाइते

 

मंसिर ७,झापा- झापामा चितुवाको आक्रमणमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना प्रहरी समेत छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । शिवसताक्षी नगरपालिका–५ भेलामुनी स्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह ४ बजेतिर सर्वसाधारणलाई आक्रमण गरेको थियो । धानबारीको चितुवाले आक्रमण सुरु गरेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली चितुवा लुकेको स्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक तीलक राईका अनुसार प्रहरी जवान युवराज थापा चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

दमक स्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । चितुवाले शिवसताक्षी–५ को भेलामुनीमा गाउँलेलाई आक्रमण गरेको थियो । धान काट्न गएकी स्थानीय ४५ वर्षीया गीता खरेल शिवाकोटी चितुवाको आक्रमणबाट गम्भीर घाईते भएकी छिन् । उनलाई टाउको र घाँटीमा चितुवाले टोकेको प्रहरीले जनाएको छ । उपचारका लागि गीतालाई बिर्तामोडको बी एण्ड सी हस्पिटल लगिएको छ ।
नयाँपत्रिकाबाट