शान्ति सम्झौताको ११ वर्ष पुराः द्वन्द्वपछिको पुर्ननिमाण भने अझै अलपत्र

मंसिर ५, काठमाडौं – सरकार र तत्कालीन विद्रोही माओवादी बीच विस्तृत शान्ति सम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहना अनुसार शान्ति प्रक्रियाका सबै काममा खासै प्रगति भने भएको छैन । संविधान निर्माण प्रक्रियाको सञ्जालमा जेलिएको शान्तिप्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेन । द्वन्द्वपछिका सामाजिक पुनस्र्थापनाका लागि आवश्यक पूर्वाधारमा सुस्तता छ । राज्यबाट दिइने राहत र क्षतिपूर्ति समेत संक्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन ।

त्यस्तै १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचना अझै अलपत्र छन् । यो अवधीमा १० वटा सरकार गठन भएका छन् । तर भत्केका संरचनाको पुनर्निर्माण र मर्मतसम्भार हुन सकेको छैन । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार द्वन्द्वमा ३८ अर्ब ३३ करोड १२ लाख ५० हजार रुपैयाँका कुल १३ हजार ७७७ संरचनामा क्षति भएको थियो । जसमध्ये अहिलेसम्म १३ अर्ब ६९ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरका ४३ सय ३५ संरचनाको काम सम्पन्न भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत रहेको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर रामाशीष यादवले बताए । अझै २४ अर्ब ६३ करोड ३२ लाख ९ हजार ४ सय ४२ आयोजना बनाउन बाँकी छ ।
नयाँपत्रिकाबाट