नेपालको भारतसँग मात्रै डेढ खर्ब व्यापारघाटा

मंसिर ४,काठमाडौं – चालु आवको ३ महिनामा नेपालले गरेको कुल वैदेशिक व्यापारमा ६३ दशमलव ६७ प्रतिशत व्यापार छिमेकी मुलुक भारतसँग मात्र गरेको छ। यस अवधिमा मुलुकले व्यहोरेको व्यापारघाटा १ खर्ब ५६ अर्ब ८० करोड रुपियाँ भन्दा बढी देखिन्छ। कुल १ खर्ब ७८ अर्ब ७० करोड ७१ लाख रुपियाँ बराबरको व्यापारमा नेपालले १० अर्ब ९५ करोड रुपियाँ बराबरको मात्र निर्यात गरेको छ। सोही अवधिमा कुल आयातमा भारतबाट आयातित वस्तु तथा सेवाको हिस्सा ६४ दशमलव ५ प्रतिशत छ। निर्यात तर्फ भने ५३ दशमलव ६ प्रतिशत रहेको छ।
त्यस्तै नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने मुलुक चीनसँग ३६ अर्ब ३ करोड १० लाख ७८ हजार रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको छ। तीन महिनामा ३६ अर्ब ५२ करोड ४१ लाख ५७ हजार रुपियाँ बराबरको आयात गर्दा ४० करोड ३० लाख ७९ हजार रुपियाँ बराबरको निर्यात गरेको छ। यस अवधिमा अर्जेन्टिना नेपालले गर्ने वैदेशिक व्यापारमा तेस्रो ठूलो मुलुक बनेको छ। अर्जेन्टिनाबाट ३ अर्ब ५८ करोड ४५ लाख १६ हजार रुपियाँ बराबरको आयात भए पनि निर्यात भने शून्य देखिन्छ।
नेपाल समाचारपत्रबाट