राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभयो ।

उप–राष्ट्रप्रमुख अल मोक्तुमले छलफलका क्रममा नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको र राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट  परिवारका साथै समाजलाई पनि फाइदा पु¥याएको जानकारी दिनुभएको सचिव वैरागीले बताउनुभयो ।

उहाँले पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबिच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउने कुरामा जोड दिइएको जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको सचिव वैरागीले उल्लेख गर्नुभयो । वार्तामा आपूर्तिमन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो । वार्तामा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो । रासस