विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् – एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए।

‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर कसरी रद्द गरियो ? यो नेपालीका लागि गरिएको हो कि कसका लागि ?’, ओलीले प्रश्न गरे, ‘सत्ताबाट बाहिरिने बेलामा मोहन सम्सेरले १९५० मा अंग्रेजसँग सम्झौता गरे, यो सरकार पनि त्यही बाटोमा हिँडेको छ। बुढीगण्डकी कुनै सनकका भरमा गर्ने काम हो?’
चुनाव गराउने दायित्व भएको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी दीर्घकालीन महत्वका निर्णयमा हात हालेको भन्दै उनले सरकारको आलोचना गरे। ‘म गम्भीरताका साथ भन्न चाहन्छु- एकमुष्ट मुद्दा लड्न नपरोस्’, ओलीले भने, ‘म सचेत गराउन चाहन्छु ।’
चुनावमा धाँधली गर्न दरबन्दी बढाएर प्रहरीका डीआइजी बढुवा गरिएको उनले आरोप लगाए। ‘दरबन्दी किन बढाउनुपर्योध? चुनावका लागि धाँधली गर्न?’, ओलीले प्रश्न गरे।
चारपटक प्रधानमन्त्री हुँदा पनि देउवालाई के गर्ने र के नगर्ने भन्ने थाहा नभएको भन्दै ओलीले कटाक्ष गर्न भ्याए। ‘के गर्न हुन्छ र के गर्न मिल्दैन भन्ने कुरा चारपटक प्रधानमन्त्री हुँदा पनि शेरबहादुरजीलाई थाहा रहेनछ’, उनले भने।
चुनावी अभियानमा भएका हिंसात्मक घटनातर्फ संकेत गर्दै ओलीले विप्लव माओवादीलाई गैरराजनीतिक काम नगर्न सुझाव दिए। ‘यसले तपाईँलाई राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिर पुर्याैउँछ’, उनले भने, ‘बरु यातायात नभएका ठाउँमा दुःख पाएकालाई डोकामा बोकेर ल्याउनुस्।’ ओलीले विप्लवलाई ‘भाइ’ सम्बोधन गर्दै सुझाव दिएका थिए।
वर्तमान राजनीतिक प्रणालीले स्थायित्व नल्याउने भए पनि एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र चुनावपछि हुने एकताले देशमा प्रणालीको विकास हुने उनले दाबी गरे। आफूहरूको तालमेल र एकताबाट कांग्रेस आत्तिएर अनावश्यक आरोपहरू लगाएको उनले बताए। ‘हामीलाई लोकतन्त्र विरोधी भन्नुभएको छ, लोकतन्त्रको लाइसेन्स हामीले कतैबाट लिनुपर्दैन’, उनको भनाइ थियो।