भारतमा डिजेल महँगो भएसँगै नेपालबाट अवैध निकासी !

कात्तिक २८, काठमाडौं – भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । तराईक्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्याधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बर देखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु ( ९६ रुपैयाँ नेपाली) कायम गरेको थियो । नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर ७४ रुर्पयाँ कायम गरिएको छ । भारतीय तुलनामा नेपाली डिजेल प्रतिलिटर २२ रुपैयाँ सस्तो पर्छ । कपिलवस्तुको कृष्णनगर र मर्यादपुर भन्सार नाका हुँदै प्रवेश गर्ने भारतीय मालबाहक ट्रक मार्फत दैनिक ६० हजार लिटर डिजेल भारत निकासी हुने गरेको बताइएको छ ।

कृष्णनगर भन्सार कार्यालयका अनुसार दैनिक १०० देखि १३० वटा र मर्यादपुर नाकाबाट ४० वटा सम्म मालबाहक ट्रक नेपाल भित्रने गर्छन् । सिमेन्ट र प्लाइउडका कच्चा पदार्थ, कोइला, कपडा, खाद्यान्न, फलफूल र तरकारी बोकेका ट्रक फर्कने क्रममा आफ्नो ट्याङ्कीमा डिजेल भरेर भारत फर्कन्छन् । ती मालबाहक ट्रकको इन्धन ट्याङ्कीको क्षमता ४०० देखि ७०० लिटर सम्मको हुने नेपाली ट्रक व्यवसायी चुन्नु श्रेष्ठ बताउँछन् ।
नेपाल समाचारपत्रबाट