चितवनमा प्रचण्ड र विक्रम पाण्डेको रोचक भिडन्त,कसले मर्ला बाजी ?

कात्तिक २३,भरतपुर – पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री थिए । एउटै मन्त्रिमण्डलमा रहेर काम गरेका प्रचण्ड र पाण्डे अहिलेको निर्वाचनमा आमनेसामने छन् । प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डे बीचको प्रतिस्पर्धा चर्चामा छ। संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं, सिरहाबाट उठेका दाहाल यसटक गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार हुन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उनले प्रचार अभियान तीव्र पारेका छन् । उम्मेदवारी दर्ताका लागि आउँदा उनी चार दिन चितवन बसे । प्रचण्डले पहिलो चरणमा शिवनगर, जगतपुर, देवनगर र माडीको कार्यक्रममा पुगे। चुनावी प्रचारका क्रममा उनले जिल्ला नेतासँग चुनावी माहोल नजिकबाट बुझेका छन् ।

दाहाललाई वन तथा भूसंरक्षणमन्त्री पाण्डेले चुनावी मैदानमा चुनौती दिएका छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । उनले पनि मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न थालिसकेका छन्। प्रचण्डलाई जिताउन एमाले र पाण्डेलाई जिताउन कांग्रेस कार्यकर्ता लागिपरेका छन् । निर्वाचन प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढी देखिएको छ। दाहालका लागि सबैभन्दा बढी चुनौती कांग्रेस कार्यकर्ता देखिएका छन् । यस अघि कांग्रेससँग गठबन्धनको मत पाएर दाहालपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन्। मेयरमा जितेपछि वाम गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ता माओवादीसँग रुष्ट छन्। सोही क्षेत्र अन्तर्गत पर्ने माडीको बाँदरमुढे घटनाका कारण पनि माओवादीले आलोचनाको सामना गर्नुपरेको छ।
अन्नपूर्णबाट