राप्रपाको चुनावी घोषणापत्र: संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

 

कात्तिक २१ ,काठमाडौं – राप्रपाले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ । घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा २७ पुसमा राष्ट्रिय एकता दिवस मनाउने र नेपाली परिवेश सुहाउँदो मौलिक प्रजातन्त्र कायम गर्ने विषयलाई समेत समेटिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदर माथि लैजान १५ वर्ष भित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी वीर–अस्पताल सरहका अस्पताल नयाँ संरचना अनुसार सातै प्रदेशमा स्थापना गरिने, आगामी १० वर्ष भित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना कार्यान्वयन गरी सदाका लागि विद्युतभार कटौतीको अन्त्य गरिने तथा उच्चस्तरीय छानबिन न्यायिक आयोग गठन गरी अवैध रूपमा कमाएका सम्पत्ति जफत गर्ने र विभिन्न व्यक्ति एंव समूहद्वारा विदेशमा लुकाइएका कालोधन फिर्ता ल्याई राष्ट्र निर्माण उपयोग गरिने विषय घोषणापत्रमा उल्लेख छ ।
नयाँपत्रिकाबाट