गोविन्दराज जोशीको उम्मेदवारी खारेज

कात्तिक १९,दमौली – कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशी विरुद्ध उजुरी दिएपछि निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । यही क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पौडेललाई जोशीको बागी उम्मेदवारीले समस्यामा पारेको थियो । विशेष अदालतले भ्रष्टाचार मुद्दामा जोशी विरुद्ध गरेको फैसलालाई आधार बनाएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उनको उम्मेदवारी विरुद्ध उजुरी दिएका थिए । जोशीले नैतिक पतन देखिने कसुर गरेकाले उनको उम्मेदवारी खारेज हुनुपर्ने माग गर्दै पौडेलले तनहुँ क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार अबेर उजुरी दिएका थिए ।

अन्नपूर्णपोष्टबाट