सडक बालबालिका भारत तस्करी : संलग्न एक भारतीय सहित ३ जना पक्राउ

 

कात्तिक १६, विराटनगर – नेपालबाट भारततर्फ सडक बालबालिकाको तस्करी हुने गरेको पाइएको छ। तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको प्रहरीले बताएको छ। मोरङ र सुनसरीका विभिन्न सहरका सडकमा बसोबास गर्ने सडक बालबालिकालाई भारतमा पुर्‍याएर जटिल श्रममा लगाउने गरिएको पत्ता लागेको हो। प्रहरीका अनुसार बालबालिकालाई भारत पुर्‍याएर घरेलु र औद्योगिक श्रममा लगाउने गरिएको पाइयो । प्रहरीले सडक बालबालिका भारततर्फ तस्करी गर्ने गिरोहमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । भारत लैजादै गरिएका तीन बालकलाई पनि उद्धार गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।

सुनसरीको इटहरीबाट भारततर्फ लैजादै गरिएको अवस्थामा भारतको जोगबनी रेलवे स्टेशनबाट उद्धार गरिएका १४ वर्षीय बालकको नाम भने प्रहरीले गोप्य राखेको छ। तस्करीमा संलग्न एक भारतीय सहित तीन जनालाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट मंगलबार राति पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको टोलीले भारतीय नागरिक ३१ वर्षीय मन्जित सिंह, मोरङको मोतिपुर घर भई इटहरी ४ बस्ने ३६ वर्षीय राजु भण्डारी र इटहरी १० का २८ वर्षीय सुरज ऋषिदेवलाई पक्राउ गरेको हो।
अन्नपूर्णपोष्टबाट