समानुपातिक संशोधन बन्दसूची आज सकिदै

१२ कात्तिक, काठमाडौं — राजनीतिक दलहरुले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा संशोधन गर्नै आज अन्तिम दिन रहेको छ ।
त्यसका लागि राजनीतिक दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राजनीतिक दलहरुले २९ असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसमा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्नेछन् ।
समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।