कात्तिक ११, धादिङ – धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट ८ जनाको शव निकालिएको छ । अहिलेसम्म एक बालक, ५ जना पुरुष र दुई महिलाको शव निकालिएको प्रहरीले जनाएको छ ।
उनीहरुको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो ।
प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । ५५ जनाले टिकट काटेर चढेकाले अझै कम्तिमा ३२ जना हराइरहेको आशंकामा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुईजनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।
अपडेटः त्रिशूली नदीमा बस खस्दा ८ जनाको शव भेटियो, १५ जनाको उद्धार, धेरै हराइरहेको अनुमान
