चार वर्षे संसद्ले दियो चारै सरकार र नयाँ संविधान

 

असोज २९, काठमाडौँ – व्यवस्थापिका–संसद्को चार वर्षे अवधिमा मुलुकले नयाँ संविधान मात्र पाएन, चारवटा सरकार समेत पायो । संसद गठन भएपछि पहिलोपटक तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बनेका थिए । उनकै पालामा मुलुकमा नयाँ संविधान जारी भयो । संविधान घोषणापछि संविधानमा भएको व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो । निर्वाचनमा कांग्रेसबाट सभापति कोइराला र एमालेबाट पार्टी अध्यक्ष केपी ओलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ओलीले कोइरालालाई उछिने र पहिलोपटक प्रधानमन्त्री बने ।

तर नौ महिना पुग्दा नपुग्दै आफैँले समर्थन गरेको सरकारबाट बाहिरिँदै माओवादी केन्द्रले कांग्रेससँग मिलेर ओलीसरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरायो । प्रस्तावमाथि भएको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरे । संविधान जारी हुँदा असन्तुष्ट देखिएको दक्षिणको छिमेकी भारतले लगाएको नाकाबन्दीका समयमा प्रधानमन्त्री बनेका ओलीका पालामा उत्तरको छिमेकी चीनसँग दीर्घकालीन महत्वका केही सम्झौताहरू भए । ओलीको राजीनामापछि कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा संविधान कार्यान्वयनको अर्को चरण सुरु भयो । पहिलोपटक बनेका स्थानीय तहको पहिलो चरण निर्वाचन सम्पन्न भयो ।

दोस्रो चरण निर्वाचनको मिति घोषणा भइसके पनि कांग्रेससँगको सहमति अनुसार प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । प्रचण्डपछि माओवादी केन्द्रकै समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी अहिले पनि प्रधानमन्त्री छन् । उनको सरकारले स्थानीय तहको घोषित दोस्रो र तेस्रो चरणको निर्वाचन सम्पन्न गर्यो । यसैगरी आगामी १० र २१ मंसिरका लागि घोषणा गरिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने अभिभारा पूरा गर्दैछ ।
नयाँपत्रिकाबाट