असोज २९, काठमाडौँ – संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार रातिबाट सकिएको छ । मुलुक अब नयाँ संसद्को खोजीको चरणमा प्रवेश गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको मनोनयन आइतबार हुने भएकाले संवैधानिक व्यवस्था अनुसार अघिल्लो दिनबाट संसद्को कार्यकाल सकिएको हो । शुक्रबार नै व्यवस्थापकीय कार्यसहितको बैठक सम्पन्न गरे पनि सभामुख ओनसरी घर्ती मगरले शनिबार सांसदहरूलाई बिदाइसहितको रात्रिभोजको आयोजना गरिन् ।
सांसदहरूको बिदाइका लागि डाकिएको संसद्को विशेष बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गरेर संविधानलाई अझै शक्तिशाली बनाउने उद्घोष गरे । अन्तिम दिन पनि नेताहरुले एक अर्कालाई कटाक्ष गर्न र आरोप प्रत्यारोप गर्न छोडेनन् । उनीहरुको यो दृष्य दोहोरी जसरी नै चलेको थियो ।
नयाँपत्रिकाबाट