वाम गठबन्धन बीच विवाद सुरु, गोरखा -२ नपाए बाबुरामले गठबन्धन छोड्ने !

असोज २७, गोरखा – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा जुनसुकै परिस्थितिमा पनि गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने दृढता व्यक्त गरेका छन् । चुनावी तालमेल भएका पार्टीबाट आफ्नो एकल उम्मेद्वारी स्वीकार्य नभए गठबन्धन तोडेर भए पनि सोही क्षेत्रबाट चुनाव लड्ने उनको अडान छ।

‘पूर्व सहमती अनुसार गोरखा क्षेत्र २ बाट तालमेल गरेर उठ्नेछु’ उनले भने, ‘यदि एमाले, माओवादीबाट स्वीकार्य भएन भने म नयाँ शक्ति पार्टीबाटै भए पनि उठ्नेछु।’ सोही क्षेत्रबाट माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने निर्णय गरेको छ। बुधबार र बिहीबारको छलफलमा भट्टराई र श्रेष्ठ मध्ये साझा नाम जुर्न सकेको छैन। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भएको छलफलबाट उनी साझा उम्मेद्वार बन्नका लागि सकारात्मक वातावरण बनेको थिएन । भेटघाटपछि भट्टराईले सामाजिक सञ्जालमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट आफू गोरखा क्षेत्र २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको दोहोर्‍याउँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गरेका थिए। गोरखाबासीको चाहना र आफ्नो रूची, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने रहेकाले उम्मेद्वार बन्ने तीव्र अठोट व्यक्त गरेका छन्।
अन्नपूर्णपोष्टबाट