निर्वाचन आयोगद्दार गाडी किन्न अर्थ मन्त्रालयसँग ११ करोड ६० लाख वजेट माग

 

असोज, ०५ काठमाडौ — निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न खोजिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् ।
निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तसहित पाँच आयुक्तका लागि नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग ११ करोड ६० लाख रुपैयाँ बजेट माग गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट दिने सहमति जनाएको थियो । त्यसअनुसार आयोगले नयाँ गाडी किन्न अहिले अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट मागेको हो । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।

आयोगसँग पर्याप्त सवारीसाधन हुँदाहुँदै नयाँ गाडी खरिद गर्न खोजेपछि आयोगका पदाधिकारीको सर्वत्र आलोचना भएको थियो । कतिपयले सवारीसाधन खरिदमा आउने कमिसनको लोभमा आयोगका पदाधिकारीले यो काम गर्न खोजेको आरोप लगाएका थिए । सरकारी अधिकारीहरूसँग मिलेमतो गर्न सके सवारीसाधन खरिदमा गाडी कम्पनीले कम्तीमा १० प्रतिशत कमिसन दिने व्यवसायीहरू बताउँछन् ।
आयोगसँग अहिले नै उच्च स्तरका गाडी छन् । आयोगले निर्वाचनपिच्छे सरकारलाई दबाब दिएर करोडौंका गाडी खरिद गर्दै आएको छ ।
संसद्बाट चालू आवको बजेट पारित भएकै भोलिपल्ट आयोगले पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि गोरखापत्रमा बोलपत्र आह्वान गरेको थियो । एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा एसयुभीको मूल्य दुई करोड ३० लाखदेखि साढे ३ करोड रुपैयाँसम्म पर्छ ।
आयोगले विगतमा पनि निर्वाचनपिच्छे गाडी किन्दै आएको छ । २०६४ सालको संविधानसभा निर्वाचनका बेला १ करोड १५ लाख रुपैयाँ दरका ५ वटा ल्यान्ड क्रुजर गाडी किनिएको थियो । यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ४ वटा टोयटा ल्यान्ड क्रुजर गाडी आयोगले किनेको थियो । सोही समयमा आयोगका क्षेत्रीय कार्यालयका लागि भन्दै ५ वटा स्कार्पियो गाडी किनिएको थियो ।
भारत सरकारले यसपालिको स्थानीय तह निर्वाचनका लागि भन्दै प्रमुख आयुक्त र चार आयुक्तलाई एउटा एसयुभी कार र चारवटा सेडान कार दिएको छ । भारतले चुनाव प्रयोजनका लागि भनेर ३५ वटा जिप र ७ वटा स्कार्पियो जिप पनि उपलब्ध गराएको छ । अहिले एकजना आयोगका पदाधिकारीले तीन वटासम्म गाडी लिएका छन् ।
आयोगका अधिकारीले वर्षाैंदेखिका पुराना गाडी मर्मत गर्दा खर्च धेरै लाग्ने भएकाले नयाँ किन्नुपर्ने अवस्था आएको दाबी गर्दै आएका छन् ।