दशैँ आजदेखि सुरु,घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा

असोज ५, काठमाडौँ- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरु हुने हिन्दु नेपालीको महान् पर्व वडा दशैँ आज देखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमा सम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजै देखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको छ ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १४ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १४ गते देवी बिसर्जनको साइत बिहान ८ः०० बजेर एक मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको बताइएको छ । दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ ।

विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्यो भन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराई विशेष अनुष्ठान एवं धार्मिक काम गर्न यस वर्षको नवरात्र तिथि घटबढ नभएकाले उत्तम रहेको बताउँछन् । विद्यापीठकै फलित ज्योतिष विषयका सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेय यस्तो योग परेका बेला गरेको काम नबिग्रने शास्त्रीय मान्यता रहेको उल्लेख गर्छन् ।
रासस