आउन थाल्यो प्रारम्भिक मतपरिणाम, कांग्रेसको अग्रता

असोज ३, काठमाडौँ ( प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ। उसलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिएका छन्।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ। कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ। बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ। कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ।

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन्। रातीबाटै मतगणना सुरु भएका ठाउँमा पनि दुई सय हाराहारी मात्र मत गनिएका छन्।

रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ। तर प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन।

मुख्य चासो रहेको वीरगञ्ज महानगरमा मतगणना अहिले केहिबेरमा सुरु हुदैँछ। त्यस्तै जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजेबाट गणना सुरु गर्ने तयारी भैरहेको छ।

सर्लाहीको लालबन्दीमा भने बाढीका कारण मतपेटिका संकलन हुन सकेको छैन।

निर्वाचन आयोगले मतगणना पाँच दिनभित्र सिध्याउन मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। तर गर्मी ठाउँ र थाकेका कर्मचारीका कारण गणनामा ढिलाई भैरहेको निर्वाचन अधिकृतहरुले बताईरहेका छन्।

१ सय ३६ स्थानीय तहमा निर्वाचन भएकोमा सप्तरीको राजविराजमा मतगणना पाँच गतेपछि मात्र हुनेछ। त्यहाँ वडा नं १५ मा ५ गते निर्वाचन छ। झण्डै आधा जसो स्थानीय तहमा मतगणना सुरु भएको खबर सेतोपाटीलाई प्राप्त भएको छ।