सप्तरीमा शान्तिपूर्ण रुपमा मतदान शुरु,प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान

असोज २, राजविराज- तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ ।

अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७:०० बजे मतदान गरे।

उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन्। सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरे।

बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको राजविराज– ३ वडाका समाजसेवी सुशीललाल दासले बताए।

यता कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गरे।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको हो ।