प्रदेश-२ मा मतदान सुरू, सुरक्षा व्यवस्था कडा

असोज २, काठमाडौं – प्रदेश नम्बर २ का ८ जिल्लामा सोमबार बिहान ७ बजेदेखि स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरू भएको छ।

१३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन भइरहेको छ।

६६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।

निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।

आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्। २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ।

मतदाताले कुनै कारणवश तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।

आयोगका अनुसार, नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ।