संघीयतामा गयो सेना : दुई पृतना थपिए, नाम पनि फेरियो

भदौ ३१, काठमण्डौ–मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक-एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक-एक र काठमाडौं उपत्यकामा एक गरी पृतनाको संख्या आठ पुर्‍याइएको छ ।

‘सेनाको पछिल्लो पुनःसंरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन्’ नेपाली सेनाका प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नयाँ पत्रिसकासँग भने । सेनाले प्रदेश नं. २ र ५ हेर्ने गरी दुई पृतना थपेको छ । कडायतका अनुसार प्रदेश नं. २ को पृतनालाई ‘मध्यपूर्वी पृतना’ भनिएको छ भने प्रदेश नं. ५ को पृतनालाई मध्यपश्चिम नामांकन गरिएको छ । विगतमा मध्यपश्चिममा रहेको पृतनालाई उत्तरपश्चिम नामांकन गरिएको छ । उत्तरपश्चिम पृतनाको मुख्यालय सुर्खेतमा छ । उक्त पृतनाले प्रदेश नं. ६ को सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी पाएको छ ।

हाल प्रदेश नंं १ को जिम्मेवारी पूर्वी पृतनाले लिएको छ । प्रदेश नं. २ को जिम्मेवारी मध्यपूर्वी पृतनाले लिएको छ । जसको मुख्यालय धनुषाको भीमानमा राखिएको छ । त्यहाँ विगतमा सेनाको फायरिङ रेन्ज थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरबाहेक प्रदेश नंं ३ को जिम्मेवारी हेटौँडास्थित मध्य पृतनाले लिएको छ । उपत्यकाका तीनै जिल्ला उपत्यका पृतनाले हेर्नेछ । प्रदेश नंं ४ को जिम्मेवारी पोखरास्थित पश्चिम पृतनाले लिएको छ । प्रदेश नंं ५ को जिम्मेवारी बुटवलमा नयाँ स्थापना भएको मध्यपश्चिम पृतनाले लिएको छ । प्रदेश नंं ६ को जिम्मेवारी नयाँ नाम दिइएको उत्तरपश्चिम पृतनाले लिएको छ । प्रदेश नंं ७ को जिम्मेवारी सुदूरपश्चिम पृतनाले लिएको छ । ‘नयाँ पृतनामा भौतिक संरचना तयार हुँदै छन् । अहिले काम गर्न कुनै समस्या छैन’ प्रवक्ता कडायतले भने ।

प्रदेश नंं. २ मा चुनावी तयारी
प्रदेश नंं. २ अन्तर्गत २ असोजमा हुने स्थानीय तहको निर्वाचनमा सेनाको नवस्थापित मध्यपूर्वी पृतना मातहत १५ हजार सैनिक खटिएका छन् । भीमानस्थित पृतना मुख्यालय र जितगढस्थित बाहिनी मुख्यालयमा एक–एक हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । ‘आवश्यक परे थप दुई हेलिकोप्टर पनि तयारी अवस्थामा रहनेछन् । थप मद्दति फौज पनि हामीसँग छन्’ कडायतले भने, ‘सेना सुरक्षाको तेस्रो घेरामा खटिने गरी पठाइएको छ ।’ यसअघिको स्थानीय निर्वाचनमा पनि सेना तेस्रो घेरामा थियो । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटिएका छन् ।समाचार नया पत्रिका वाट