सत्तापक्षबाट उम्मेवारमाथि आक्रमण गर्‍यो – एमाले

 

भदौ २९,काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले सप्तरीमा आफ्ना उम्मेदवार र नेता कार्यकर्तामाथि सत्तापक्षले भौतिक आक्रमण गर्न थालेको आरोप लगाएको छ ।
एमाले केन्द्रीय कार्यालयले बिहीवार जारी गरेको प्रेस नोटमा सप्तकोशी नगरपालिका-४ की महिला सदस्य उम्मेदवार कुमारीदेवी सदामाथि कुटपित भएको भन्दै कार्वाहीको माग गरिएको छ ।

सदामाथि कुटपिट गर्ने रोशन लेखी,नशिव लेखी लगायतलाई प्रहरीले पक्राउ गरे पनि उनीहरुलाई छाड्न सत्ताधारी नेताहरुले दबाब दिएको आरोप एमालेेको छ ।

केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी सत्तापक्षबाट आफ्ना कार्यकर्ता असुरक्षित भएको बताएका छन् ।

विज्ञप्तिमा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डलको गाडी रोकेर हुलहुज्जत गरिएको र वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीमाथि सांघातिक आक्रमण गरिएको उल्लेख छ ।

एमालेले सत्तापक्षले सत्ताको आडमा गुण्डागर्दी थालेको भन्दै सुरक्षा माग गरेको हो ।