बाबुरामले भने मधेसवादी र पहाडवादी सोच बिर्सनुपर्छ

भदौ २९, सप्तरी – बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको दौडाहा अहिले सप्तरीमा भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका अध्यक्षका साथै शीर्ष नेताहरु सप्तरी आएर आ-आफ्नो दलका लागि मत मागिरहेका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरु जिल्ला आएर चुनावी प्रचार-प्रसार गरेका छन् । उनीहरु आफ्नो अनुकुल प्रचार प्रसार गरेका छन् ।

नेताहरुको भिडमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि थपिएका छन् । उनले पनि अन्य नेताजस्तै भाषण र चुनावी प्रचार-प्रसारमा व्यस्त भए । तर, उनले एउटा अर्काे काम पनि गरे, ‘मधेसी नेताको शालिकमा माल्र्यापण ।’

राजविराजको गजेन्द्र चोकमा रहेको सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्र्यापण गरेका नेता भट्टराईले मुलुकमा एकले अर्काको अस्तित्व स्वीकार नगरेसम्म नयाँ मुलुक बन्न नसक्ने बताए ।

‘नेपालमा दुई थरी अतिवादी सोच रहेको छ’ उनले भने, ‘एकले मधेसलाई देश नै नठान्ने र अर्कोले मधेसलाई अर्को देश ठान्ने सोच अहिले हाबी भएको छ ।’

दुवै अतिवादी सोच रहेको बताउँदै उनले नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवं क्षेत्रीय विविधतायुक्त देश भएकोले जातीय रुपमा तीन मुख्य क्लस्टरको प्रतिनिधित्व गर्ने समुदाय र महिला, दलित, मुस्लिम तथा अल्पसंख्यकहरुलाई विशेष अधिकार दिएर सबैलाई बराबरी बनाउनु अहिलेको आवश्यक्ता भएको बताए । उनले यो बराबरीमा ल्याउने काम नयाँ शक्तिले गर्ने दावी गरे ।

नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेसलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको बताउँदै नेता भट्टराईले देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

‘अब हामी मधेसवादी र पहाडवादी भएर हुँदैन’ उनले भने, ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवर्द्धन जरुरी छ ।’

प्रदेशको आयोगेको मोडेल अनुसार सीमांकन

नयाँ शक्तिका संयोजक डा. भट्टराईले मधेशको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन समेत गरिनुपर्ने बताएका छन् । उनले मधेसको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

नयाँ शक्ति पार्टी सप्तरीले बिहीबार बिहान राजविराज नगरपालिकाको वडा नम्बर ७ मा पैदलयात्रासहित गरेको घरदैलो कार्यक्रममा समेत भट्टराईले सहभागिता जनाएका थिए । नयाँ शक्तिले राजविराज नगरपालिको मेयर पदमा मिना ठाकुर र उपमेयर पदमा अनन्न लाल साहलाई उम्मेदबार बनाएको छ