भदौ २५, लहान – सिरहा सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे। यादव परिवारले उनलाई हप्काएर पठाए। साँझ घर फर्केका यादवले चौधारी मत माग्न आएको परिवारले जानकारी दिएपछि आक्रोशयुक्त टिप्पणी गरे, ‘उनलाई (चौधरी) कुट्नुपर्ने थियो हप्काएछौं मात्र।’ यादवले अन्नपूर्णसँग शनिबार भने, ‘कुनै बेला ममाथि २८ वटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने।’ यो खबर नवीन झा / सन्तोष यादवले आजको अन्नपूर्णमा लेखेका छन्।
०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्वकर्तामध्येका हुन्। ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो। आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए।
उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन्। पहिलो मधेस आन्दोलन तथा गौरकाण्डपछि उनीमाथि अझै ५ वटा मुद्दा चलिरहेको छ।
‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं। जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्’, यादवेले आक्रोशयुक्त टिप्पणी गर्दै भने। चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए।
लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने, ‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ।’
दुईवटा मधेस विद्रोहपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल सिरहा र सप्तरीका ९० प्रतिशत सिटमा विजयी भएको थियो। ६ वटा निर्वाचन क्षेत्र भएको सिरहाबाट ५ वटामा फोरम विजयी भएको थियो भने सप्तरीका ६ मध्ये ४ सिटमा फोरमकै उम्मेदवार विजयी भएका थिए।
०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा फोरम नेपाल सिरहा र सप्तरी दुवै जिल्लाबाट एक सिट पनि ल्याउन सकेन।पुनःसंरचना आयोगले सिरहामा १७ र सप्तरीमा १८ स्थानीय तह बनाएको छ। मधेस आन्दोलनको उद्गमस्थलमा स्थानीय तहको निर्वाचनमा फोरम नेपालले आफ्नो पुरानो हैसियता फर्काउन सक्ल ? प्रश्न जटिल बनेको छ। स्थानीय बुद्धिजीवी भन्छन्, ‘त्यो गाह्रो देखिन्छ।’ सिरहा गोलबजार क्याम्पसका प्राध्यापक प्रदीप साह भन्छन्, ‘सिरहामा मुख्यगरी कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा देखिन्छ।’
सिरहामा कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ। यद्यपि, केही ठाउँमा माओवादीसमेत मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ। यहाँका १७ स्थानीय तहमध्ये अहिलेसम्म तीन ठाउँमा मात्रै फोरम नेपालका मेयर उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् भने अर्को मधेसी पार्टी राष्ट्रिय जनता पार्टी नेपाल दुई स्थानमा प्रतिस्पर्धीका रूपमा देखा परेको छ।
लहानमा एमालेका उम्मेदवार मुन्नी साहको जितलाई सुनिश्चितजस्तै ठान्छन् स्थानीय जानकार। सदरमुकाम सिरहा बजारमा कांग्रेस, एमाले र फोरम नेपालका उम्मेदवारबीच कडा प्रतिस्मर्धा हुने अनुमान गरिएको छ।
उम्मेदवारी मनोनयनका दिनमा कांग्रेस सिरहाभित्र देखिएको विवादपछि एमाले यहाँ थप हौसिएको अधिकारकर्मी दुर्गा महतो बताउँछिन्। महतो भन्छिन्, ‘टिकट वितरणका क्रममा सिरहा कांग्रेसभित्र देखिएको विवाद अन्तिम समयसम्म कसरी सल्टिछ, त्यसले यहाँको नतिजालाई प्रभाव पार्न सक्छ।’
सप्तरीलाई पनि मधेस आन्दोलनको अत्यधिक प्रभाव क्षेत्र मानिन्छ। सप्तरीमा पहिलो संविधानसभामा ६ मध्ये चार सिट फोरमले जितेको थियो भने १ सिट सद्भावना र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायणसिंहको गृहजिल्ला भएकाले सप्तरीलाई मधेसको कोर क्षेत्र मानिन्छ। तर, पहिलो संविधानसभापछि लगातार आरोलो लागेका मधेसी शक्ति स्थानीय तहमा पुनःस्थापित हुन्छन् कि हुँदैन भन्ने अझै द्विविधा छ।दुई वर्षअघि भएको संविधानविरुद्धको आन्दोलनमा सप्तरी एउटा प्रमुख केन्द्र नै बनेको थियो। सप्तरीको भारदहमा आन्दोलनकारी मारिएपछि आन्दोलन झनै चर्किएको थियो।