भदौ १७,काठमाडौ — गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।
बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए । उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौती छैन ।’
चितवनको भरतपुरमा मतपत्र च्यातिएको सन्दर्भबारे पत्रकारको जिज्ञासामा मन्त्री शर्माले भने, ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । मतदाताले हो परिणाम दिने । मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो ।’
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए ।
विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको भन्दै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।