अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ र महासचिवमा उत्तम अधिकारी विजयी

 

भदौ १७, काठमाडौं — माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ र महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ र अधिकारी विजयी भएका हुन् ।
संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट झापा निवासी तामाङले अर्का प्रत्यासी रुकुम निवासी अनिल शर्मालाई २२ मत अन्तरले हराए । तामाङले ८४५ र शर्माले ८२२ मत पाएका छन् ।
उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन, दलित उपाध्यक्षमा इन्द्र भुसाल र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वा्चित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् ।

उपमहासचिव जीपी मैनाली, तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी निर्वा्चित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी थिइन् ।

कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।