प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तपाईँको जिल्लामा कहिले निर्वाचन ?

भदौ १६, काठमाडौं- निर्वाचन आयोगको आज बसेको बैठकले आगामि मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली एवं उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ । यो खबर आजको अधिकांश पत्रपत्रिकामा छापिएको छ, हामीले नयाँ पत्रिकाबाट लिएका हौ।

निर्वाचन आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी ऐन अनिवार्य हुने भएकोले उक्त कानून शीघ्र आयोगमा उपलब्ध गराउन सरकारलाई आग्रह समेत गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको थियो ।

कुन कुन जिल्लामा कहिले निर्वाचन हुँदैछ ?

मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला :

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा,

प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,

प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,

प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,

प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,

प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।