भदौ १४, काठमाडौं- मुस्ताङमा थकाली समुदायको परम्परागत फालो पर्व शुरु भएको छ। थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको यो पर्व थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिकाको वडा नं. २ कोवाङमा मंगलबार सुरु भएको हो। हरेक वर्ष भाद्र शुक्ल पक्षमा अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म फालो पर्व मनाउने प्रचलन छ। गौचन, तुलाचन, शेरचन र भट्टचन थरका ५ देखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारहरुलाई यात्रामा सहभागी गराइन्छ। परापूर्व कालमा थकाली युवाहरुले शिकारका क्रममा मृग मार्न खोज्दा नरिच्हेब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजान अनुरोध गरे अनुसार सोही स्थानमा गुम्बा बनाएपछि गाउँमा अनिष्ट नहोस भन्दै यो पर्वमा पूजाआजा गर्ने परम्परा बसेको बताइन्छ।यात्रामा सहभागी हुन विदेशबाट समेत थकाली कुमारहरु कोवाङ आएका छन्। कुमारहरु थकाली भाषाको गीत गाउँदै मौलिक पहिरनमा सजिएर नाचगान गर्छन् भने लामाहरुले कोतघरमा पूजाआजा गर्छन्। तीन दिनसम्म मनाइने यो पर्व बिहीबार सम्पन्न हुनेछ।
मुस्ताङको कोवाङमा थकाली समुदायले फालो पर्व मनाउँदै
