जोखिमयुक्त बस्तीका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा

भदौ १२, काठमाडौं – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्न सुरु गरेको छ । प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गङ्गाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो ।

प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकाहरूमा गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ री गाउँका ल्बेक लामा तामाङ, नेमबहादुर तामाङ, सुतमान तामाङ, बलबहादुर तामाङ र चमहादुर तामाङ छन्।

त्यस्तै सोही गाउँपालिकाका २ नम्बर वडाका भूकम्प प्रभावितमा रामबहादुर तामाङ, शिर्वा तामाङ, गङ्गाबहादुर तामाङ, फुर्वा लामा तामाङ, दाइबहादुर तामाङ छन् । त्यस्तै रक्से लामा तामाङ, मनोज तामाङ, जलबहादुर तामाङ, डेमे लामा तामाङ, सुनबहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राहीको सूचीमा पपरेका छन्।

यस्ता जोखिमयुक्त बस्तीबाट स्वैच्छिक रूपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।आजको गोरखापत्रमा खबर छापिएको छ।

जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने पहलस्वरूप तत्कालका लागि १७ घरपरिवारलाई लाभग्राही सूचीमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।