दशैं खर्च जुटाउनका लागी जुम्लामा राउटे

भदौ ११, काठमाडौं-   दशैं आउन अँझै एक महिना बाँकी छ । हिन्दुहरुको ठूलो चाड भएका कारण धेरै खर्च जुटाउनुपर्दछ । जंगलमा सिकार गर्ने र जंगलमै बास बस्ने राउटे समुदायलाई भने एक महिनाअघि देखि नै दशैं मनाउने चटारो सुरु भएको छ ।

जंगलमा छाप्रो बनाएर खेतीपाती नगरिकनै बस्ने र काठका सामग्री बनाएर बेच्ने राउटे समुदायहरु पछिल्लो समय आर्थिक संकलन र आफ्ना सामग्री बिक्रीका लागि निकै टाढासम्म पुग्ने गरेका छन् । दैलेख र अछाममा बसोबास भएका राउटे समुदाय हाल दशैं खर्च जुटाउन कर्णालीको जुम्लासम्म पुगेका छन् । वर्षमा एकपटक आउने दशैंलाई जंगलमै बसेर भएपनि रमाइलोसँग मनाउने आशाका साथ दुईजना राउटे युवा आर्थिक संकलनका लागि जुम्ला आइपुगेका हुन् । ‘दशैं आउन अब एक महिनामात्रै बाँकी छ, सबै परिवार बसेर रमाइलो गर्नुपर्छ, जुम्ला आएका राउटे मुखिया नारायणबहादुर शाहीले भने,‘यतातिरबाट रुपैयाँ संकलन गरी एकदुई हप्तामा नै घर फर्किन्छौं ।’

खेती लगाउने प्रचलन नभएको र पैसा छुँदा पाप लाग्छ भन्ने राउटे समुदाय पछिल्लो समय आफ्नो आवश्यकता पूर्तिका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुसँग आर्थिक सहयोगको लागि गुहार माग्न थालेका छन् । आजको अन्नपुुर्णमा यो समाचार छापिएको छ । सडक सञ्जाल जोडिएसँगै पछिल्लो दुईवर्षयता राउटे समुदायका युवाहरु आफुहरुले बनाएका काठका सामग्री बिक्री गर्न र सरकारी निकायका प्रमुखहरुँग आर्थिक सहयोग माग्न आउने गरेका छन्। दैलेखको दुल्लुबाट गाडीको यात्रा गर्दै शनिबार जुम्ला सदरमुकाम खलंगा पुगेको मुखिया शाहीको भनाइ छ ।