एमालेले २ नम्बर प्रदेशका ११६ स्थानीय तहका उम्मेदवार टुंग्यायो

भदौ ११, काठमाडौं-   प्रदेश नम्बर २ मा  नेकपा एमालेले सबैभन्दा अगाडि प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु चयन गरिसकेको छ।  । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ ।

अन्य दलको भने टुंगो लाग्न सकेको छैन। कांग्रेसले मंगलबारसम्म टुंगो लगाउने बताएको छ । माओवादी र मधेस केन्द्रित दलहरुले टुंगो लगाउन बाँकी छ ।

एमालेले वीरगञ्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले अनलाइनखबरलाई बताए ।

वीरगञ्जको मेयरमा एमालेले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ । चौधरीका अनुसार सिराहा, सप्तरी र पर्साका सबै स्थानीय तहका उम्मेदवार तय भइसकेका छन् । आजको यो समाचार अनलाइन खबरमा छापिएको छ।

प्रदेश नम्बर २ मा पर्ने तीनवटा उपमहानगरपालिकामा उम्मेदवार तय हुन बाँकी छन् । जनकपुरमा कांग्रेस नेता तथा पूर्वमेयर बजरंग शाहलाई एमाले प्रवेश गराएर टिकट दिने तयारी भइरहेको स्रोतले जनाएको छ ।

त्यस्तै बाराका दुई उपमहानगरपालिका सिमरा जितपुर र कलैयामा मेयर उपमेयरको टुंगो अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्केपछि स्थायी कमिटीले लगाउने चौधरीले बताए ।

एमाले स्रोतका अनुसार जितपुर सिमरामा डा. कृष्ण पौडेल र कलैयामा विनोद साहलाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ ।

उता धनुषामा भने रघुवीर महासेठ पक्ष र सत्रुघन महतो पक्षबीच विवादका कारण उम्मेदवार तय हुन नसकेको एमाले स्रोतले जनाएको छ ।
रौतहटमा चन्द्रपुर नगरपालिका बाहेक सबै तहमा उम्मेदवार तय भएका छन् ।

सर्लाही, महोत्तरी र बाराका केही ठाउँ बाहेक सबै उम्मेदवार तय भएको र उम्मेदवारहरु प्रचार प्रसारमा जुटिसकेको चौधरीले बताए ।

अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि भदौ १५ गते १३६ स्थानीय तहकै उम्मेदवारको नाम सार्वजनिक गरिने उनले बताए ।

एमालेले प्रदेश नम्बर २ मा ६० देखि ६२ स्थानीय तह जित्ने लक्ष्य राखेको चौधरीले बताए । कांग्रेस बाहेक अन्य दलसँग स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने तर मूलतः एमाले एक्लै चुनाव लड्ने मनस्थितिमा रहेको उनले बताए । उनले २ नम्बरमा पनि एमाले पहिलो हुने दावी गरे ।