पुर्वाधार विकासमा दुई छिमेकीको प्रतिस्पर्धा

भदौ ११, काठमाडौं – नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको हो ।आजको अन्नपुर्णमा खबर छापिएको छ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालको विकासमा दुई छिमेकी नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । ‘चीनले भन्दा छिटो काठमाडौंमा रेल ल्याउन अब भारत लाग्छ । १० वर्षभित्र उत्तर दक्षिण रेलले जोडिन्छ’,उनले भने,‘नेपालले ओविओआरमा हस्ताक्षर गरेपछि खुलेको सम्भावनाको ढोकालाई अहिलेको भ्रमणले थप उचाइमा पुर्‍याएको छ।’

संयुक्त प्रेस विज्ञप्तिको २२ औं नम्बरमा बुटवल–पोखरा सडकलाई ‘एक्सप्रेस सडक’ का रूपमा विकास गर्ने योजना छ । चीनको विशेष चासो रहेको पोखरालाई पछिल्लो दिनमा भारतले विशेष महत्व दिँदै आएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी १९ कात्तिक ०७३ मा पोखरा पुगेका थिए ।
सन् १९६२ मा भारत–चीन युद्धभन्दा पहिला तिब्बत–भारत हिमाल पार व्यापारको केन्द्र रहेको पोखरामा भारतीय सेनाको पेन्सन क्याम्प छ ।कोराला नाकाको प्रवेशद्वार रहेका कारण यसअघि चीन भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले पोखरामा क्षेत्रीय विमानस्थल निर्माण, किमाथांका–खाँदबारी–धनकुटा सडकको विस्तृत परियोजना प्रतिवेदन, रसुवागढी–काठमाडौं रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ सरकारलाई आग्रह गरेका थिए । चीनको एक्जिम बैंकको ऋण सहयोगमा पोखरामा विमानस्थल निर्माणको काम थालिएको छ ।
चीनले कोरालाबाट पोखरा, लुम्बिनी हुँदै भारतको गोरखपुरसम्मको बजारलाई ध्यानमा राखेर पोखरा लुम्बिनी रेलमार्गमा चासो दिएको हो । बुद्धधर्म मान्ने चिनियाँका लागि यो मार्ग धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । भारतले यही मार्गलाई एक्सप्रेस सडकका रूपमा विकास गर्न चाहेको हो । सरकारले चीनलाई सिगात्से केरुङ, काठमाडौंं, पोखरा लुम्बिनीसम्मको रेलमार्गका लागि प्याकेजमा राखेर निर्णय गर्न आग्रह गरेको छ ।