देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन: देउवाले भने, ‘अर्को पटक संविधान संशोधन हुन्छ’

 

भदौ ९, काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा संविधान जारी गर्दा केही मुद्दाहरु अधुरै रहेको र तीनको सम्बोधनका लाग हालै गरिएको संविधान संशोधनको प्रयास सफल हुन नसकेको बताए ।
यसअघि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले स्थानीय निर्वाचन सफलतापूर्व सम्पन्न गराएकोमा देउवालाई बधाई दिंदै सबैका आकांक्षा सम्बोधन गरेर संविधान लागू गर्न देउवालाई आग्रह गरेका थिए ।
“सबै वर्गसँग वार्ता गरेर सबैका आकांक्षालाई सम्बोधन गर्दै संविधान लागू गर्न सक्नुहुनेछ भन्ने विश्वास लिएको छु,” मोदीले भनेका थिए ।
“हामीले संविधान संशोधनको प्रयास गर्‍यौं तर, सदनमा दुईतिहाई बहुमत नपुग्दा संशोधन प्रस्ताव पारित हुन सकेन,” जवाफमा देउवाले भने, “तर पनि संविधानप्रति असन्तुष्ट राजपा चुनावमा सहभागी हुने भइसकेको छ,”
देउवाले संविधान संशोधनको प्रयास पुनः गरिने र संशोधनपछि मुलुकभरका सबै जनताले त्यसको स्वामित्व ग्रहण गर्ने दाबी गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनको शुरुवात नेपालीमा र बाँकी हिन्दीमा गरेका थिए ।
उनले नेपाल र भारतबीचको सम्बन्ध ‘हिमालजत्तिकै पूरानो’ भन्दै देउवाको भ्रमणले त्यसमा नयाँ आयाम थपिएको बताए । नेपाल र भारतको सुख–सुविधा, समृद्धि र पीडा समेत एकअर्कामा जोडिएको भन्दै मोदीले नेपालको विकासमा भारत सँधै साझेदार रहने बताए ।
उनले नेपालमा बाढीको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएको र सीमामा बाढीको समस्या समाधान गर्न दुवै पक्षबीच सहकार्य गरेर त्यसको दीर्घकालीन समाधानका उपाय खोज्न दुवैपक्ष सहमत भएको जानकारी दिए ।
देउवाले नेपाल भारतको छिमेकीमात्रै नभई नजिकको सहयोगी समेत रहेको भन्दै नेपालमा भारतविरोधी कुनै पनि गतिविधि हुन नदिने भनेका थिए । उनले उच्चस्तरीय राजनीतिक वार्ताले नै एकआपसमा विश्वास र भरोषा बढाउने भन्दै उच्चस्तरीय राजनीतिक वार्तालाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।
यसअघि दुवै प्रधानमन्त्रीहरुको उपस्थितिमा नेपाल र भारतबीच ८ वटा समझदारीमा हस्ताक्षर भएको थियो ।
चारवटा समझदारी पुननिर्माणसम्बन्धी छ । जसमध्ये भारतले घोषणा गरेको रु १ अर्ब खर्चको क्षेत्र र मोडालिटी र अन्य शिक्षा, स्वास्थ्य, पुरातात्विक सम्पदा सम्बन्धी छ । त्यसैगरी मेची पुल निर्माण, लागू औषध नियन्त्रण सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
आजै दुवै प्रधानमन्त्रीले दिल्लीबाट स्वीच दबाएर कटैया–कुशाहा र रक्सौल–परवानीपुर विद्युत ट्रान्समिसन लाईनको पनि उद्घाटन गरेका छन् । यो प्रशारण लाइन सञ्चालनमा आएसँग भारतबाट थप १०० मेगावाट विद्युत आयात हुनेछ । यसअघि भारतबाट ३०० मेगावाट विद्युत आयात भइरहेको थियो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले जलविद्युत सम्बन्धी पूराना सहमतिलाई चाँडै पूरा गरिने, पञ्चेश्वर बहुउद्देश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यही वर्षभित्रै पूरा गरिने, धनगढीमा टेक्निकल इन्स्टिच्यूट र अस्पताल खोल्नमा भारतले सहयोग गर्ने बताए ।
उनले खुला सीमाको दुरुपयोग रोक्न दुवै देशका सुरक्षा निकायहरु निकट सम्पर्कमा रहेर काम गर्न दुवै पक्ष सहमत भएको पनि जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको भूमि अधिग्रहण सम्बन्धी काम पूरा भइसकेको र उक्त आयोजनाको शिलान्यासका लागि देउवाले आफूलाई निम्तो दिएकोमा खुशी लागेकाे बताएका थिए ।