प्रधानमन्त्री देउवाको दिल्लीमा विदेशमन्त्री सुष्मा स्वराजद्वारा स्वागत

 

भदौ ७, काठमाडौं –   पाँच दिने राजकीय भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली आइपुगेका छन् । देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । विमानस्थलबाट देउवा सिधै राष्ट्रपति भवनमा पुगेर आराम गरी लन्च गरेका थिए ।

प्रधानमन्त्री लगायतको एउटा सानो टिम राष्ट्रपति भवनमा बस्ने छ भने भ्रमण टोलीका अन्य सदस्यहरु खान मार्केटमा रहेको ताजमानसिंह होटलमा बस्ने तय गरिएको छ । राष्ट्रपति भवनमा लन्च तथा केहीबेर आराम गरेपछि देउवाको कार्यक्रम सुरु भएको छ ।

केही समयदेखि बिरामी भई घरमा नै आराम गरिरहेका नेसनलिष्ट कंग्रेस अफ इन्डियाका महासचिव डिपी त्रिपाठीलाई उनको घरमा नै गएर प्रधानमन्त्रीले भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै देउवा दिल्लीस्थित नेपाली दूतावासमा पुग्ने छन् । जहाँ उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

तीन बजेबाट देउवाले नेपाली समुदायसँग भेट्ने तथा उनीहरुको ज्ञापनपत्र बुझ्ने कार्यक्रम रहेको छ । त्यसपछि आजै साँझ देउवाले नेपालमा लगानी भित्र्याउने सम्बन्धमा व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।