देउवाको मन्त्रिमण्डल ४९ सदस्यीय पुग्यो, आज १५ राज्यमन्त्री थपिँदै

भदौ ६, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फेरि आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । उनलेल मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीको आज दिउँसो तीन बजे पद तथा गोपनियताको सपथ गराइँदै छ ।

देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए ।  मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थपेका छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ४९ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३  उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् ।

मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट केशनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।

यसैगरी फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।

मन्त्रिमण्डल ५० काट्ने

देउवाको मन्त्रिमण्डल सदस्य ५० कट्ने भएको छ । आज राज्यमन्त्री थपेसँगै मन्त्रिमण्डल ४९ पुगिसकेको छ । प्रधानमन्त्रीले अझै ४ वटा मन्त्रालय आफ्नो माताहतमा राखेका छन् । उनले राप्रपा र अन्य साना दलको ‘भाग’ का लागि उक्त मन्त्रालय राखेका हुन् ।

उनले चार मन्त्रालय राप्रपा र साना दललाई दिएपछि उनको मन्त्रिमण्डल ५३ सदस्यीय हुनेछ । ५३ सदस्यीय भएपछि देउवाको मन्त्रिमण्डल अहिलेसम्मकै जम्बो हुने छ ।

साभार ः कान्तिपुर दैनिक