बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा

साउन ३०,काठमाडौं – शुक्रबारदेखि विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

बाढी र पहिरोमा परेर कम्तिमा ५० जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले झण्डै १९ हजार घरपरिवार विस्थापित भएको जनाएको छ ।

बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै राहत, उद्धारका लागि प्रभावकारी काम नभएकाले तत्काल त्यसमा जुट्न आह्वान गरेको छ ।