नयाँ मतपत्र छापेर राजपालाई निर्वाचनमा सहभागी गराउने सरकारकाे प्रयास

साउन ३०,काठमाडौं – सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल सुरु गरेका छन् । राजपालाई नयाँ मतपत्र छापेर भए पनि निर्वाचनमा सहभागी गराउने प्रयास भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निर्वाचन आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूबीच आइतबार भएको बैठकमा राजपालाई एउटा निर्वाचन चिह्नमा सहभागी हुने वातावरण बनाउन छलफल भएको थियो ।

पार्टी एकतापछि दाबी गरिएको छाता चिह्न पाउने सम्भावना नभएपछि एकतामा आएका ६ दलमध्येको एउटा चिह्न प्रयोग गर्नेबारेमा पनि छलफल चलेको छ । तर, निर्वाचन आयोगले प्राविधिक समस्या देखाएकाले ठोस निर्णय नभएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

नयाँ मतपत्र छाप्न १५ दिन लाग्ने

राजपाले माग गरेअनुसार नयाँ चिह्नसहित मतपत्र छाप्ने हो भने कम्तीमा १५ दिन लाग्छ । ३१ वैशाखकै निर्वाचनको निरन्तरता भएको र प्राविधिक तयारीको हिसाबले पनि अर्को मतपत्र छाप्न नहुने पक्षमा आयोग छ । तर, प्रधानमन्त्री, आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूसहितको संयुक्त बैठकमा आयोगले प्राविधिक समस्या देखाएर मतपत्र छाप्न नसकिने बताएको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसरी पनि छाता उपलब्ध गराउनुपर्ने धारणा राखेपछि प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले प्राविधिक समस्या रहेको भन्दै पुनः मतपत्र छाप्प नसकिने बताएका थिए । त्यसलगत्तै प्रधानमन्त्री देउवाले जनक शिक्षा सामग्री केन्द्रसँग बुझेका थिए । केन्द्रले २ नम्बर प्रदेशमा आवश्यक करिब २५ लाख मतपत्र छाप्न कम्तीमा १५ दिन लाग्ने बताएपछि सरकारले निर्णय गर्ने देउवाको भनाइ थियो ।

छाता चिह्न विवादित

राजपाले दाबी गर्दै आएको निर्वाचन चिह्न छाता विवादमा छ । निर्वाचन आयोगका अनुसार अर्कै दलले पहिलादेखि छाता चिह्न दाबी गरिरहेको छ । आयोगको कानुनअनुसार पहिला दाबी गर्ने दललाई निर्वाचन चिह्न दिनुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन । आइतबार प्रधानमन्त्री, आयोग र राजपाका नेताहरूबीच बसेको बैठकमा छाता निर्वाचन चिह्न उपलब्ध गराउन प्रधानमन्त्री र आयोगलाई आग्रह गरेको राजपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । ‘आयोगले प्राविधिक रूपमा समस्या रहेको, तर सोमबारसम्म एउटा निर्णय गर्ने जानकारी दिएको छ,’ ठाकुरले भने।

पाँचमध्ये एउटा चिह्न लिने

हातको पन्जा विवादित भएपछि राजपाले प्रयोग गर्नसक्ने पाँचवटा चिह्न हल गोरु, साइकल, तीर, रेल, बुढो किसानले लठ्ठी समातेको बाँकी छन् । राजपा नेताहरूले अनौपचारिक रूपमा पाँचमध्ये एउटा चिह्न लिएर निर्वाचनमा जाने मनस्थिति बनाएका छन् ।

यदि छाता चुनाव चिह्न पाउन नसके राजपामा आबद्ध पूर्व ६ दलले पाएका निर्वाचन चिह्नमध्ये एउटा लिन सक्नेछन् । ती ६ वटा चुनाव चिह्न मतपत्रमा छापिइसकेको छ । सोही कारण ६ मध्ये एउटा निर्वाचन चिह्न दिन आयोग तयार छ । तर, त्यसमध्ये नेपाल सद्भावना पार्टीले प्रयोग गरेको निर्वाचन चिह्न हातको पन्जा विवादित छ ।

सद्भावनालाई फुटाएर अर्को पार्टी गठन गरेकी सरिता गिरीले हातको पन्जा चिह्न दाबी गर्दै अदालतमा मुद्दा हालेकी थिइन् । गिरी संघीय समाजवादी फोरम प्रवेश गरे पनि अदालतले सो चिह्नबारेमा फैसला गरिसकेको छैन ।