प्याजको मूल्य आकाशियो, प्रतिकिलो ८० रुपैयाँभन्दा माथि

 
साउन २९, काठमाडौं – बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको छ। अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ। नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ। मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ। मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो। भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेक छन्।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन। यसले मूल्य अकासिएको उनको भनाइ छ। ‘वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डार पनि प्रभावित भएकाले भारतमै मूल्य बढेको छ’, सिलवालले भने, ‘भारतमा मूल्य बढ्दा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो।’

डेढ महिनाअघि भारतीय किसानले सरकारलाई प्रतिकिलो आठ रुपैयाँमा प्याज बेचेका थिए। भारतमा ठूलो परिमाणमा प्याज उत्पादन भएपछि मूल्य अभावमा सरकारले नै किसानबाट प्याज खरिद गरिदिएको थियो। यसरी खरिद भएको प्याज सरकारले पाँच रुपैयाँ प्रतिकिलोमा व्यवसायीलाई बिक्री गरेको थियो। उक्त प्याज व्यवसायीले डेढ साताअघिसम्म प्रतिकिलो भारतीय रुपैयाँ १८ मा बिक्री गर्दै आएका थिए। तर, भण्डारमा राखिएको प्याज पानीले नष्ट भएपछि थोकमै एक सातायता प्रतिकिलो भारु ३० मा बिक्री हुँदै आएको छ।

नेपालमा भारतको नासिक, इन्दौर, कानपुर, चण्डीगढ, सिमलालगायत स्थानबाट प्याज आयात हुने गरेको छ। अहिले दैनिक चार ट्रकहाराहारीमा मात्र प्याज काठमाडौं भित्रिने गरेको छ। पहिले दैनिक ३० ट्रकसम्म प्याज आउँथ्यो। ‘भारतमै प्याजको अभाव भएपछि नेपालमा आयात दर पनि घटेको छ’, खतिवडाले भने।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३/७४ मा भारत र चीनबाट चार अर्ब २० करोड ९८ लाख रुपैयाँबराबरको १३ करोड एक लाख किलो प्याज आयात भएको थियो। पछिल्लो समयमा सहरी क्षेत्रमा जनसंख्या वृद्धि एवं होटेल व्यवसायको विस्तारका कारण प्याज आयातको परिमाण बढेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए।

काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब एक करोड ७० लाख रुपैयाँबराबरको दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ। यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० मेट्रिक टन प्याजको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टन प्याजको कारोबार हुन्छ। ‘नेपालमा उत्पादन हुने प्याजले देशभरको मागलाई एक महिना पनि धान्दैन’, घिमिरेले भने, ‘त्यसैले मागअनुसार ९८ प्रतिशतभन्दा बढी प्याज भारत र चीनबाट आयात गर्नुपर्छ।’

नेपालमा अर्बौं रुपैयाँबराबरको प्याज आयात भए पनि सरकारले प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउनेसम्बन्धी कुनै पनि कार्यक्रम नल्याएको सर्वसाधारणको गुनासो छ।