पूर्वी तराईका धेरै क्षेत्रमा डुबानको खतरा,उच्च सतर्कता अपनाउन सरकारको आग्रह

 
साउन २८,काठमाडौं – पूर्वी तराईका धेरै भूभागमा डुबानको खतरा बढेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेकाले पूर्वका धेरै नदीमा पानीको सतहले खतराको तह पार गरेको शाखाले जनाएको छ ।
लगातार पानी परिरहेकाले पूर्वी तराईका धेरै भूभाग डुबानको खतरा रहेको भन्दै सुरक्षित ठाउँमा बस्न शाखाका सुनिल पोख्रेलले आग्रह गरे । उनका अनुसार डुबानको जोखिम भएका ठाउँको स्थानीय बासिन्दालाई शाखाले सुरक्षित ठाउँमा जान आग्रह गर्दै मोबाइलमा सन्देश पठाएको छ ।
शाखाले सुरक्षति भएको अर्को सन्देश पठाउने भएकाले सन्देश नआएसम्म सुरक्षित ठाउँ मै बस्न पनि उहाँले आग्रह गरे । शनिबार बेलुकासम्म देशका धेरै ठाउँमा पानी पर्ने भएकाले नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ्गले सुझाव दिए ।