सप्तरीमा दुई हजार २०० घर डुबानमा, ५०० परिवार विस्थापित

 

साउन २८,राजविराज – विगत चार दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीले करिब दुई हजार २०० घर डुबान परेका छन् । बाढीका कारण करिब ५०० परिवार विस्थापित भएका छन् ।
जिल्लाका खाँडो, जिता, बिहुल, त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका बस्तीहरु डुबानमा परेका हुन् ।

तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र वनरझुलाको बस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् ।

वर्षा नरोकिएका कारण चारैतिर पानी बगिरहेकाले सर्वसाधारणलाई बस्तीबाट सुरक्षित स्थानसम्म पुग्न पनि समस्या भएको छ ।

सकरपुरा र बेल्हीको करिब ४०० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिवथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर–४, ५, ६, ७, ८ र १५ को देउरीभरुवामासहितका बस्तीहरु जलमग्न भएका छन् ।

राजविराज नगरपालिकाको सडकहरुमा तीन फिटसम्म पानी बगिरहेकाले आवागमनसमेत अवरुद्ध भएको छ । सरकारी कार्यालयहरुमासमेत बाढीको पानी पसेको छ ।

वर्षा नरोकिएका कारण जिल्लाका रम्पुरामल्हनियाँ, तिलाठी, सकरपुरा, लौनियाँ, वर्साइन, वनरझुला, कुशहालगायतका बस्तीहरु जोखिममा परेका छन् ।

यता, जिल्लाको अतिविकट मानिने गोबरगाढा बस्तीमासमेत सप्तकोसी नदीको पानी पसेका कारण त्यहाँका वासिन्दाहरु डुंगा चढेर सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीले जिल्लाको हजारौं बिघा धानबालीसमेत डुबानमा परेको छ ।