अनशनका १३६ दिन, ९ सम्झौता, कार्यान्वयन शून्य

 

साउन २७,काठमाडौं – माग एउटै– ‘गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा पुगोस्।’ तर त्यत्तिका लागि प्रा.डा. गोविन्द केसी ११ पटक गरी एक सय ३६ दिन आमरण अनसन बसिसकेका छन्।

२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ। प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन पनि गरिए।

पछिल्लो ११औं अनशन शुक्रबार १९ दिन पुगेको छ। माग पूरा हुने वातावरण अझै बनेको छैन। अनशनका श्रृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन्। बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउँछन्। अघिल्लो पटकको सत्याग्रहमा उनी २२ दिन अनशन बसेका थिए।

डा.केसीको पहिलोदेखि चौथोसम्मको अनशनमा प्रमुख माग वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति गरियो। त्यसताका संस्थानमा राजनीतिक भागबण्डाका आधारमा डिनलगायत पदाधिकारी नियुक्त हुन्थे। उनको आन्दोलनकै कारण संस्थानमा डिन नियुक्ति वरिष्ठता र स्वच्छताका आधारमा गर्न थालियो। बिच–बिचमा उल्लंघन गरिँदा केसीको त्यो माग अझै कायमै छ।