सिलवालको मुद्दामा आज बहस सकिँदै, कस्तो आउला त परिणाम ?

साउन २६, काठमाडौं –  नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा आज बहस सकिँदैछ । साउन १९ गते सुनुवाइ भएपछि हेर्दाहेर्देमा राखिएको यो मुद्दाको आज  तोकिएको पेसीमा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चका कायममुकायम रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए ।
सुनुवाईमा प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन् । बहसपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता र निवेदकका तर्फबाट जवाफ दिने र सम्भवत आजै अन्तिम फैसला सुनाइने छ ।
सरकारले जयबहादुर चन्दलाई आईजिपी बनाउने निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआईजी नवराज सिलवाल अघि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशविपरीत सरकारले चैत २८ गते आईजिपीमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेपछि सिलवाल सर्वोच्च पुगेका थिए । यहि विचमा सिलवालको कार्यसम्पादन मुल्याङकनमा उनी आफैले केरमेट गरेको भेटिएपछि सिलवाल निकै विवादमा परेका थिए ।