साउन १९ ,काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको शत्रु कांग्रेस नै रहेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस बर्दिबासले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी आफ्नै छायाँसंग डराइरहेका छौं,’ महामन्त्री कोइरालाले भने, ‘अन्तर्घातकै कारण दोस्रो संविधान सभाको चुनावमा पहिलो भएको हाम्रो पार्टी स्थानीय तहको चुनावमा दोस्रो भयो।’ प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताएर मधेश कांग्रेसको भोट बैंक रहेको सावित गर्नु पर्नेमा उनले जोड दिए ।
माओवादी अहिले पनि कांग्रेसकै बलमा उफ्रिरहेको महामन्त्री कोइरालाले दावी गरेका छन् । जंगलमा रहेको माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको भन्दै डा. कोइरालाले भने, ‘माओवादीलाई बैतर्नी नदी कांग्रेसले पार गराएको हो ।’ माओवादीलाई मोक्ष दिने काम कांग्रेसले गर्दै आएको उनले स्पष्ट पारे ।
उनले माओवादीसंग तेस्रो चरणको स्थानीय तहको चुनावमा तालमेल नहुने कांग्रेसी कार्यकतालाई बताए । उनले भने, ‘कांग्रेस अब माओवादीको बुई चढ्दैंन ।’ कांग्रेस आफै मधेशमा शक्तिशाली भएकोले कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने डा. कोइरालाले स्पष्ट पारे ।
‘तेरो मेरो भन्ने कुरा हुदैन कांग्रेसी मिलेर मधेशमा कांग्रेसलाई एक नम्बर बनाउ, ’उनले भने, ‘कांग्रेसको लागि प्रदेश नम्बर २ को चुनाव जीवन–मरणको सवाल हो । स्थानीय तहको नतिजाकै आधारमा प्रदेश र केन्द्रको चुनावमा कुन पार्टीले जित्ने भन्ने आधार रहन्छ , त्यसैले असोज २ को चुनाव कांग्रेसका लागि महत्वपूर्ण छ ।
नेपाली कांग्रेस महोत्तरीको बर्दिवास लगायत मधेशमा सक्षम रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नगर्न कार्यकर्ताले पार्टीलाई सुझाव दिएका छन् । स्वागत कार्यक्रममा सहभागी हुन आएका कांग्रेसका अधिकाशं नेता कार्यकर्ताहरुले माओवादी केन्द्रसँगको तालमेल काँग्रेसलाई नै महंगो सावित हुन सक्ने बताएका छन् । कार्यक्रममा बोल्दै केही कार्यकर्ताले बरु एमालेलाई भोट दिने तर हसियाँ हतौडामा भोट नहाल्ने धारणा व्यक्त गरे । गौरीबासका मनोज ढुङ्गेलले भने, ‘भोट हाल्नै परे एमालेलाई हालिन्छ तर माओवादीको हसिया हथौडामा कुनै पनि हालतमा भोट हालिदैंन ।’ भन्दै नेतृत्वलाई चेतावनी दिएका थिए । विभिन्न पार्टी परित्याग गरी १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साभार अन्नपुर्ण पोष्ट