साउन १९ ,काठमाडौँ – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गरेका छन् । साथै उनले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने बताए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने, ‘नेपालको खेलकुद क्षेत्रलाई संघीय संरचना अनुसार नै रुपान्तरण गर्नका लागि ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने छौं ।’
उनका अनुसार नेपालगञ्ज, पोखरा, झापा, विराटनगर जनकपुर लगायतका शहरहरुमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना रहेको छ ।
काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको रंगशाला मर्मत सम्भार भइरहेको छ ।
खेलकुदमन्त्री केसीले आफ्नो कार्यकालमा नेपालको खेलकुद क्षेत्रलाई सुदृढ र सवल बनाउनको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । उनले भने, ‘खेलकुद क्षेत्रमा विभिन्न समस्या देखिएका छन्, एन्फा, ओलम्पिकदेखि क्रिकेट संघमा समेत विवाद छन्, विभिन्न संघहरुमा देखिएका सबै समस्याहरुलाई हल गर्नुपर्छ ।’
केसीले खेलकुद क्षेत्रमा कुनैपनि हालतमा राजनीति हुन नहुने धारणा राखे । उनले अघि भने, ‘खेलकुदमा राजनीतिकरण भएको छ, यसलाई न्यूनिकरण गर्नु मेरो पहिलो प्राथमिकता हो, म सकेसम्म न्यूनिकरण गर्ने प्रयास गर्नेछु ।’